Songs Lyrics Lovers

You can find all kind of Songs Lyrics and Poem

Dhurba D1

.......................................

Dhurba D1

....................................................................

Songs Lyrics Lovers

All Kind of songs Lyrics.

Music is my Life

I love music and music is my life.

Search Lyrics

Like

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Monday, May 27, 2013

** बयान नगर भो **

** बयान नगर भो **
मायाँमा नै हारें मैले जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो
सबै टाढा हुँदा रैछन् दु:खै दु:ख पर्दाखेरि
सुख हुँदा नजिक आउने मीतको बयान नगर भो


ठूलै वर्षा हुनुपर्छ हरियाली छाउन यहाँ
झुल्कै घाममै सुकी जाने शीतको बयान नगर भो
मानव भन्नु सबै उस्तै छैन फरक रतिभर
मान्छे मान्छे फरक ठान्ने रीतको बयान नगर भो
मिठो लाग्छ छङ्छङ् गर्ने छहराको मधुर धून
मुटु रेट्ने बिरही त्यो गीतको बयान नगर भो

Wednesday, May 22, 2013

कविता "अनार्य बस्तीको बहुला कुकुर"

म हेरी रहे
पल-पल हेरी रहें
एकनासले हेरी रहें
र तिमी देखाई रह्यौ नाटक
सडक-सडकमा
सदन-सदनमा
सभा-समारोहमा
उत्तिकै तिम्रो चर्चा चली रह्यो
मिडिया पत्रपत्रिकामा
गरि रह्यौ चिल्ला भाषाणहरु,
अन्तस्करणमा थुपारेर दुरालाप ।


मान्छेको व्यवहारले मात्र अपुग भएछ तिमीलाई
र त नरपशु भएछौ
अधमको मुकुट लाएछौ
चिन्ताकुल नेपाल आमालाई नंग्याउन लागेछौ
चढेछ तिमीलाई बैंस सम्पतिको
यसर्थ त त्यहि बैंसालु तृष्णा मेट्न
सोजा सिदा,सर्वहारावर्ग आम नेपालीको
पसिना माथी बलात्कार गर्न लागेछौ ।


निरघृण कर्मको सम्पतिले
फोगिन तिमी आज
सानदार महलमा सजिएका छौ
हिजका मुलायम तिम्रा बोलि
आज परिघोष जस्तै भएका छन्
निर्दोस राज्यलाई नातागती बनाएका छौ
बोक्रे वरिष्ठ निकम्मा तिमीले ।

ए ! अनार्य बस्तीको बहुला कुकुर
कति भुक्छौ व्यर्थै निरीह बस्तीलाई तर्साउन?
आखिर तिमीलाई पालेको छ कसले?
बिहान बेलुकीको तिम्रो छाक कसले टारेको छ?
बुज्दैनौ किन?
जब तिम्रो विरुद्दमा जोडदार आवाज उठ्नेछ
जब तिम्रो विरुद्दमा असंख्य बस्ति उठ्ने छन्
तब महसुस गर्नेछौ ,
तिम्रो प्राण बचाउने र प्राण खुस्काउने को भनेर ।

कविता "आफ्नै जीवनी"

पढें जीवनी ठुलो मान्छेहरूको
र पढें राक्षसहरूको पनी,
भुले पढ्न
आफ्नै जीवनी..

पढें धेरै कथाहरू प्रेमका
र पढें विछोडका कथा पनी,
भुले पढ्न
आफ्नै प्रेमकथा...


सुनें धेरै मृत्युका घटना
र देखें धेरै लाशहरू पनी
पाइंदैन देख्न
आफ्नै मृत्यु र लाश....

देखें धेरै हाँसो र खुशीहरू
देखें आँशु र पिडाहरू पनी..,
हाँसो र आँशुको दोसाँधमा
अल्झीएको छु आफैं..

Saturday, May 18, 2013

एउटा मात्र युद्ध बाँकी छ । नेपाली कविता

अब देश त खण्ड खण्ड पनि भयो
जातजाती र उपजातीहरुको
पर्खाल ठड्याउन मात्र बाँकी छ ।

यो देश जो अँझै महान र सुन्दर छ,
यसका महानता र सम्पदाहरुको
चीरा पारेर चूंगीका लिने
खम्बा र बाँसको लिंगो ठड्याउन मात्र बाँकी छ ।


ए पात्तकी हो तिमीहरुले यो के गरेको ?
ए राक्षसहरु हो यो कस्तो राजनीति गरेको ?
बाहुन कै खलकमा जन्म्यौ,
बाहुन कै नाम लेख्छौ,
पौडेल, कोइराला, दाहाल,
भट्टराई, नेपाल अनि खनाल
तिम्रा पुर्खाले धिक्कारर्लान कतै
जातजातीको भाग लगाउँदा
खै त आफ्नो बाहुन राज्य ?
कि तिमीले पनि जात बदल्न बाँकी छ ?

ए गद्दार कुकुर र गधाका पुजारीहरु हो
ए महापापी र उल्लू अनि वेइमानहरु हो
क्षेत्री कै खलकमा जन्म्यौ,
क्षेत्री कै नाम लेख्छौं,
महत, थापा, चन्द र देउवा
बस्नेत, रावल, कुंवर र कार्की
तिम्रा सन्ततीले मुखमा थुक्लान कतै
जातजातीको भाग लगाउँदा
खै त आफ्नो क्षेत्री राज्य ?
कि तिमीले पनि थर बदल्न बाँकी छ ?

चौध अञ्चल पचहत्तर कस्का निजी थिए
कस्ले बदल्न भन्यो कहाँ छ त्यो जनादेस
तिम्रा गीदिमा गोबर भरिएको
कुन विकसित देशमा देख्यौ
गरेर यस्तो विभेद अनि सुधारीएको
पाजी नामर्द र चण्डालहरु हो
यस्तो निच काम पनि गर्छन पद पाउन
अकुत अनापसनाप कमाउन
अझै के खान र लाउन छ बाँकी के हँ ?

यूद्ध र आन्दोलन अनि हडताल गरायौ
थरीथरीका विरोध र ताण्डव गरायौ
बोलाएर जनताका छोराछोरी
लडायौ नेपालीलाई नेपाली विरुद्ध
भूट्यो जनताका छोराबुहारी
रुवायौ नाबालकहरु घरघरमा टुहुरा पारी
आखिर बर्हिगमनमा अनि अयोग्यमा पारी
बनायौ तिनैलाई दुष्मन आफ्ना
आज त लगाए ताला तिम्रा आफ्नै कार्यालयमा
याद गर पाजीहरुको अब कुनै आन्दोलन
राजा र दरबारको विरोध बाँकी छैन
छ त तिम्रा आफ्नै असन्तुष्ट कार्यकर्ता
अयोग्य, वाइसियल, दरुण र लिगहरुले
तिम्रै पुत्ला जलाएर तिम्रो गर्दन समात्न बाँकी छ ।

एउटा मात्र युद्ध बाँकी छ,
सुखमय अन्र्तजातीय विवाहमा
बाधिएर बसेका तिम्रै खुसी सेनाहरु
जातजातीको लडाईमा घानिएर
यौनक्रिया र सहवासको आनन्द विर्सेर
लोग्ने स्वास्नी जातजातीको यूद्धमा
काटिन र मारिन बाँकी छ ?

के तिमीहरुलाई याद छ ?
तिम्रो पनि अन्तरजातीय
तिम्रा सन्तान र छोराछोरीको पनि
आधुनिक र युग सुहाउँदो विवाहमा
घोर दरार पारेर लाजिम्पाटको दरबार
र ती आलिसान गाडीमा भागबन्डाको लडाई बाकी छ ।
अँझै छैन विग्रेको सुधार मर्न र मार्नबाट
जोगाउ भाइचारा अनि त्यो दरार हटाउन बाँकी छ

केवल् उडिरहेँ चुपचाप उडिरहेँ । नेपाली कविता

परिस्थिती सँग अनी भाग्य सँग
नियती ठानेर संघर्सको मैदानमा
आफ्नो हर खुशीलाई त्यागेर झुत्रिये
शायद नियती नै च्यातिनु हो मेरो
केवल् उडिरहेँ चुपचाप उडिरहेँ।

चङ्गा हुँ म कहिले आकासिदै
कहिले माथी चढदै कहिले तल झर्दै
हावाको झोका सँग लहराउँदै

कहिले प्रतिद्वन्धी सँग डराउँदै
केवल् उडिरहेँ चुपचाप उडिरहेँ।

कसैको बन्धन मा बाँधिएर
कहीं आग्रहले कहिं आदेशले
अनी सधैं अरुको खुशीको लागि
निस्वार्थ भई सेवामा समर्प्रित
केवल उडिरहें चुपचाप उडिरहे

प्रेमपत्र रुपी नेपाली कविता

प्रिय रेश्मा,
अनिश्चित जिन्दगीको
संघर्षशील यात्रा बीचबाट
सुमधुर मायाको साथै
अविरल सम्झना..!


धेरै भयो
तिम्रो हस्ताक्षर लिएर
मायालु पत्रहरु नआएको,

कतै गाउँको हुलाकघर
आन्दोलनकारीको निशाना त बनेन ?


फेब्रुअरी का
आखिरी दिनहरु माझ,
स-प्रेम सम्झिरहेछु तिमीलाई..
तिमि छौ कतै दुर गाउँमा..
छु म अरबको अत्यासलाग्दो
कोलाहल भीडभित्र..!

कतै चिठीका खामहरुमा
तिम्रो स्पर्श समेटीएको
कतै चिठीका हरफहरुमा
मिठो मुस्कान पोखीएको,
हो त्यही पत्र..
पोहोर सालको...!
साँच्चै रेश्मा,
म तिम्रो पुरानो पत्र
चुमिरहेछु आज...!


पुर्ब तर्फबाट
बेजोडले बहने
चिसो हावाका
झोकाहरु संगै
मन नै चिसो भएको छ
कतै मेरो ............
आ..यो मन पनि
के -के सोच्छ के-के...!


जे होस्
भ्यालेन्टाइन डे को
पुर्वसंध्यामा,
गुराँसको थुंगा जस्ती
मेरी प्रिय रेश्मा
तिमीलाई लाखौं-लाख सम्झना छ ।

दुखी छोरीको विलौना । नेपाली कविता

भाइको हातमा कापी कलम मेरो हातमा डोको
मेरो पनि थियो नि बाबा अक्षर चिन्ने धोको
बुझ्ने पाइन महिले कोही छोरीको मन रोको
खोल्ने ठाउ नै कतै थिएन वेदना को पोको

साँझ बिहान चुलो चौका भुल्थे सधै मझेरीमा
झिस मिसेमा गाग्री बोकी रुदै पुग्थे पंधेरीमा
जिन्दगी  नै सुक्यो बाबा अशिक्षा को खडेरीमा
यो छोरीको दु:खी जीवन फस्यो किन अधेरीमा


छोड्नै पर्ने माईती घर लाई मेरो पाईतो सर्‍यो
न्याउली बनी यो मन रोयो आँसु धारा झर्‍यो
छोरी हेप्ने कु चलनले मलाई जिउदै मार्‍यो
अशिक्षाको उपज होला मैले दासी बन्न पर्‍यो

रात दिन ढिकी जाँतो हात मा उठ्छन ठेला
वर्षा मास झरी बादल दिनै धाउनै पर्छ मेला
अभागी म छोरिलाई किन गर्‍यौ माइती हेला
कर्मको फल भोग्दै छु म आज यती बेला
मलाई जस्तै छोरीहरुलाई नगर्नु है हेला

मान्छे । कविता

उस्तै छाला उस्तै हाड
उस्तै ति नशाहरु
उस्तै मासु उस्तै रगत्
उस्तै ति बहावहरु
उस्तै मुटु उस्तै धड्कन
उस्तै ति श्वासहरु
उस्तै आँखा उस्तै नजर
उस्तै ति दृश्यहरु
फेरि यो भिन्नता किन?
अनि विभेद किन?

म मान्छे उ मान्छे
तिमी मान्छे हामी मान्छे
फेरि यो शत्रुताको आभास किन?
मान्छे मान्छे बीच द्वन्द
मान्छे मान्छे बीच क्रन्दन किन?
ईश्वर उहि,प्रभु उहि
बुद्द उहि,अल्लाह उहि
मात्र आस्था फरक हुन्छ
आखिर भगवान एकै हुन्छ
तोड यो संकिर्णता
छोड यो धर्म विभेद
फोड यो रङ्गभेद
सबै ध्यय मानवहित
आउ मिलौं सबैसित
मनका ईर्ष्या द्वेषहरु
रिसरागका अवशेषहरु
सबै सबै त्यागौं
एकले अर्कालाई
सबै धर्मलाई
सम्मान गरौं
आदर गरौं
आत्मियताको उचाँई थप्दै
एक हौं भन्ने मन्त्र जप्दै
अघि बढौं मान्छे हामी
सृष्टिको नियम थामी
चिनारी दिउँ मान्छे भनि
किनकि हामी मान्छे हौं
विवेकशिल प्राणी हौं

आफैंसंग लैजान सक्छुकी

हो!मलाई अत्यन्तै बोझ भएको छ
अस्तित्व र स्वाभिमानको बोझ
मूल्य र मान्यता अनि आदर्शताको बोझ
नैतिकता र इमान्दारिताको बोझ
सद्बिचार र सदाचारको बोझ

अस्तित्व दोबाटोमा रोकिएको छ
स्वाभिमान दोसाँधमा अडिएको छ
मूल्य र मान्यता डांडापारि पुगिसकेको छ
तैपनि घिच्याइरहेको छु,घिच्याइरहेको छु
आफैंसंग लैजान सक्छुकी भन्ने धोको लिएर


जीवन कर्कलाको पानीजस्तै ढिलपिलाएको छ
नैतिकताले नेटो काट्नै लागिसकेको छ
सदाचार त पाताल भासीइ सकेको छ
तैपनि सम्हालिरहेको छु,सम्हालिरहेको छु
अझै यसलाई जोगाउन सक्छु कि भन्ठानेर

इमान्दारितामा धमिरा लागिसकेको छ
सद्बिचार देखावटीमा मात्रै सीमित भएकोछ
आदर्शता खोक्रो भएर हराउन लागेकोछ
तैपनि बोकिरहेको छु,बोकिरहेको छु
अझै आफूसंग राख्न सक्छु कि भन्ने सम्झिएर

अनि कसरि र कहाँ बिसाउनु यो बोझ ?
निरन्तर निरन्तर सम्म पनि
यो बोझ, बोझ नै भएर रहनेछ
यो केवल मृगतृष्णा जस्तै हुनेछ
कहिल्यै पूरा नहुने जीजिविषा मात्र हुनेछ

मनमा माया साँचेर धेरै

मनमा माया साँचेर धेरै
म तिम्रै होनी भन्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।१।।

प्यास लाग्दा खोला होईन
तिमी आफैं धाउनै पर्छ,
मनको कुरा ओठमा ल्याई
तिमीले गित  गाउनै पर्छ ।।२।।


गाँठो पारी मनमा माया
तैपनि मनको कुरा खोल्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।३।।

नजिक आउन मेरो तिमीलाई
किन कसैको डर छ र !
नभनी नभनी त्यो मनको कुरा
त्यसै यो मनमा सर छ र ।।४।।

हेर्दा हेर्दै वषौं बितायौं
माया अब नि गर्छु भन्दिनौं
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।५।।

*** जीवन सागर *** कविता

विशाल सागर जस्तै हो जीवन
जसको गहिराइ अपरम्पार हुन्छ
न त पिंधको टुंगो नै लाग्न सक्छ
न त सतहले नै वास्तविकता बताउन सक्छ

अनगिन्ती भेलहरु रेलिएर यहाँ
पटक पटक दुषित बनाउन खोजेका हुन्छन
हजारौं हजार दुर्गन्ध मिसिएर यहाँ
कलंकित र बिटुलो पार्न खोजेका हुन्छन


कैयौँ आँधीबेहरी,बतास र हुरीहरुले
उडाएरै लैजाउँला जस्तो गरेका हुन्छन
लाखौं लाख बाधा र व्यवधानहरु आएर
निश्चिन्ततालाई बिथोल्न खोजेका हुन्छन

शृष्टिकै अनमोल र अपूर्व वरदान हो यो
तर पनि यदाकदा बिचलित बनेको हुन्छ
अनियन्त्रित आवेशले रौद्ररुप धारण गरेपनि
आफ्नो अस्तित्वमा तुरुन्तै फर्किएको हुन्छ

महानता र विशालताले भरिपूर्ण छ यो
न त कसैले अपवित्र नै बनाउन सक्छ
सधैं स्थिर र शान्त भएर रहेको छ यो
न त यसको निर्मलतामा आँच नै आउन सक्छ

कुनै असहजता र अवरोधले डराउदैन यो
न त यसलाई कसैले रोक्न नै सक्छ
आफ्नो सत्यता मा सधैं अडिग रहन्छ यो
न त यसको "नाम"नै बदनाम भएको हुन्छ

विशाल सागर जस्तै हो जीवन
त्यसैले त सागर भएर रहन सक्नुपर्छ
निर्मल ,निश्छल अनि निष्कलंक भएर
निरन्तर निरन्तर बहन सक्नु पर्छ

** आहा !! म मरिसकेछु ** कविता

आहा !! म मरिसकेछु
हो आज म मरिसकेछु
तर,तर मृत्युको बाहुपाशमा
तिम्रो कठोर बाहुपाशमा भन्दा बढि
स्वर्गिय आनन्द भोग्दैछु
किन थाहा छ ?
किनकी जिवित हुदाँ
प्राप्त गर्न नसकेको
तिम्रो आत्मियता
म मृत्यु पश्चात पाउँदैथिएं
जब मेरो लाशमाथि कात्रो ओढाईयो
तिमी मेरो लाशमाथि घोप्टो परेर
कहालिएर रुँदै थियौ
शंखघोषसहित मेरो यात्रा
मसानघाट तर्फ शुरु हुदां

तिमी अश्रुभेलसहित
नग्न पयर मेरो पछि पछि
तिखा पत्थरहरुमा टेक्दै
रगाताम्य पार्दैथियौ
यो त्याग कहाँ पाएं र जीवनमा ?
तर मृत्युपश्चात पाउँदैथिएं
मेरो जीवन सजाउन नसकेका ती हातले
आज मेरो चिता सजाउँदै गर्दा
यस्तो लाग्यो मेरो मृत्यु छिट्टै हुनुपर्थ्यो
जब मेरो लाशलाई चितामा राखियो
तिमी मेरो वरिपरि घुम्दैथियौ
सायद अन्तिम पटक मलाई हेर्दैथियौ
स्निग्ध नजरले
कुनै दिन एक स्पर्शको लागि लालायित
हुन्थे मेरा मन र तन
आज तिनै हातहरु काँप्दैथिए
मलाई अग्निदाह गर्दा
आनन्दको अनुभूति चरमरुपमा हुदैँथियो
म सेतो बस्त्रमा लपेटिएर
आकाशतर्फको यात्रामा निक्लदैंगर्दा
तिमीले मलाई देख्न सकेनौ
तथापी म तिमीलाई नियाल्दैथिएं
म देख्दैथिएं,कुनै पल
मेरो उपस्थितिले बिझाउने तिमी
म जलेर बनेको खरानी
आफैमा धस्दै
भक्कानिएर रुँदै थियौ रुँदै थियौ ।

**** शुभकामना रंगिन पर्वको ***

हरेक ऋतुका फूलहरु संग पैचो मागी
केहि रंग टक्राउछु तिमीलाई..!
इन्द्रेणीको सप्तरंगी रंग चोरी
केहि रंगाउछु तिमीलाई .. !
आफ्नै जीवनका ऊमंग र खुशीहरु घोली
केहि रंग वर्साउछु तिमीलाई .. !
शुभकामाना आज
रंगिएर टक्राउन हुन्न रे मैले ... !

त्येसैले ...!
अन्तर मनले रंग वर्साउछु तिमीलाई ..!
स्वीकार गर .. !
आज मुटु भरि-भरिका रंगिन होली.. !
होली आयो रे भन्छन रंग खेल्नेहरु ..!
रंग खेल्न धर्मले हुन्न रे मैले ..!
त्येसैले ..! स्वीकार गर..!
आज मेरो मानस रंगको होली.. !
अनि ...!
एक मुट्ठी मानस सप्तरंगले तिमीले ..!
रंगाई देउ मलाई पनि...!!!

*** के हो जीवन ? ***

कसैको लागि उजाड मरुभूमि हो जीवन ।
कसैको लागि हराभरा बसुन्धरा हो जीवन ।
कसैको लागि दु:ख र आँशुको तरेली हो जीवन ।
कसैको लागि खुशी र हाँसोको अविरलता हो जीवन ।

वैभवताले चुलिएका हरुका लागि ,
अनुपम स्वर्ग भएको छ जीवन ।
पलपल मरिरहेका हरुका लागि ,
रौरव नर्क तुल्य भएको छ जीवन ।

गाँस,बास र कपासले पिल्सेका हरुलाई ,
उचाली नसक्नु भारी हो जीवन ।
दुध चुसेर भात ओकल्नेहरुका लागि ,
कहिल्यै नरित्तिने भण्डार हो जीवन ।

आलिसान महलमा राजगर्ने हरुकालागि,
निरन्तर खित्का छोडाइ हो जीवन ।
झुपडीमा बसिरहेका हरुका लागि ,
पल पलको असह्य दुखाइ हो जीवन ।
मात्तिएर बाँचिरहेका हरुका लागि ,
कहिल्यै नरित्तिने नशा हो जीवन ।
आत्तिएर बाँचिरहेका हरुका लागि ,
प्रलयँकारी महाभूकम्प हो जीवन ।

प्रेम र मिलनमा रमिरहेका हरुकालागि,
असिमित रमाइलो र आनन्द हो जीवन ।
वियोग-व्यथाले छटपटाएका हरुका लागि ,
पीडैपीडाको विसाल भकारी हो जीवन ।
नियतिले कोल्टे फेरेका हरुका लागि ,
अभावै अभावको हिमचुली हो जीवन ।
पुर्पुरो बलियो हुनेहरुका लागि ,
हीरा र मोतिको सगरमाथा हो जीवन ।

मदहोशिमा लट्ठीरहेका हरुका लागि ,
चरम सन्तुष्टिको पराकाष्टा हो जीवन ।
हातमुख जोड्ने समस्या भएका हरुकालागि,
भोक र असन्तुष्टिको अबिजालो हो जीवन ।
वासनाको संसारमा रम्ने हरुकालागी ,
भोग्नु र भोगाइ मात्रै हो जीवन ।
भष्मासूर र नरपिशाच हरुका लागि ,
काँचको खेलौना जस्तै हो जीवन ।

इमान्दारिताले बाँचेका हरुको लागि ,
सच्चरित्रता र नैतिकता हो जीवन ।
बेइमानदारिताले बाँचेका हरुको लागि ,
दुश्चरित्रता र अनैतिकता हो जीवन ।
स्वाभिमानी पूर्वक बाँचेका हरुकालागी,
पौरख र अनवरत संघर्ष हो जीवन ।
लुच्चा र स्वार्थी हरुका लागि ,
फट्याइं र धुर्त्याइं मात्रै हो जीवन ।

देशलाई माया गर्ने हरुका लागि ,
त्याग,तपश्या र बलिदान हो जीवन ।
देशलाई मायाँ नगर्ने हरुका लागि ,
छलकपट र झूठको खेति हो जीवन ।
साधु, महात्मा र महापुरुष हरुका लागि ,
काम,क्रोध,लोभ र मोह बिहीन हो जीवन ।
यसरि अनगिन्ति परिभाषाहरु बोकेको ,
अनमोल र अपरम्पार हो जीवन ।





You may also like it.....


रगत सबको रातो हुन्छ के पायौ र भिन्नता ? कविता ।

के नै पाउछौ र तिमीले हृदयलाई टुटाएर ?
अहम किन गर्छौ यहाँ ठूलो जातको हुँ भनेर ?
रगत सबको रातो हुन्छ के पायौ र भिन्नता ?
रुवाउनुनै थियो भने किन गास्यौ आत्मियता ?

म भित्र नि मुटु चल्छ मनभरी माया छ ।
सानै जातको भए पनि मानवताको छाया छ ।।
माया भन्ने ठुला साना दुवैको नै उस्तै होला ।
यस्तै पीडा तिमीलाई दिदा मुटु भए मन रोला ।।


नेपाल आमा रोईन भने मेरो पनि आशुँ भर्छ ।
म पनि त उनकै सन्तान म भित्र नि देशभक्ति छ ।।
तिमी र म मानव सबको धर्ती आकाश भिन्दै छ र ?
अहमताको रोग हटाई मानवताको व्यवहार गर ।।

अमृत भनि विष पिलाउदा जो पनि त मर्छ होला ।
धोका नदेउ मलाई जस्तै अरुको नि मन रोला ।।
ईश्वर सबको एउटै हुन छुट्रयाउछौ तिमीले किन?
रुप देख्दा लोभ लाग्यो जात सुन्दा घृणा किन ?


You may also like it.....

कविता "तिमी प्रती"

पोखौ त कसरी पोखौ
तिमीलाई मनको बह मनभित्र
यती धेरै उकुश मुकुशहरू
भरिएर रहेका छन्
कतै बाहिर निकाली दिदा
छताछुल्ल भएर
पोखिएला की भन्ने डर छ !
भनौ त कसरी भनौ

तिमीलाई मैले मन पराएको कुरा
तिमी यती टाढा छौ
मेरो आवाज तिमीले सुन्नु अगावै
कसैले सुनी देला भन्ने डर छ !
यो त औशत लोग्ने मान्छेले
आइमाइ मान्छे प्रती गरीने भलाकुशारी हो
भनि तिमी ठान्न सक्छौ
यो त हरेक कमजोर
मनहरूबाट व्यक्त गरीने
आशक्ती हो भनि
तिमी मान्न सक्छौ
जे शोच;
स्वतन्त्रता तिम्रो न हो .

Friday, May 17, 2013

नेपाली कविता - "आभास " -

दुनियाँ को चारै तिर देख्छु बादल कालो ,
जिन्दगीको हर मोडमा पाउँछु चोट आलो !

थियो इच्छा आकाश पुगी चन्द्रमालाइ छुने ,
बिच मा आइ छेकीदीयो बिछोड को जालो !

अधुरो भो कथा मेरो चोखो माया पाउने ,
गइ रहन्छ घरि घरि मुटु मा भुइं चालो !


नयन मेरा खोजी डुल्छन्,उनीलाइ नै सँधै,
छोडि गइन् टाढा उनी एक्लो भो अँगालो !

गाह्रो भयो सँझाउन ,रोएको यो मनलाइ ,
पक्कै आउला कुनै दिन उनले रूने पालो !

आँखा भरी बियोग को बादल ढाकिएर ,
हाँसिराको सेतो हिमाल पनि देख्छु कालो !

पृथ्वी को चारै तिर देख्छु बादल कालो !
दुनियाँ को चारै तिर देख्छु बादल कालो !

अनुहार त उही रहेछ मुकुन्डो मात्रै फरक । कविता

कुनै आशुँ बग्दैन जम्छ परेलि भित्रै ।
कुनै घाऊ देखिदैन लुक्छ छाती भित्र।

यो नसोच्नु छैन निर आँखामा कुनै।
यो नसोच्नु चर्किदैन मुटुमा घाऊ कुनै।

नदेखाउँ दु:ख अरुलाई भनी मौन हुन्छु।
कहिले काँही एकान्तमा विवश भई रुन्छु।


कहिले छातीको मायाँले पिरहरु लुकाउछ।
कहिले मनको तापले आशुँहरु सुकाउछ।

सोचेको थिएँ पर्दिन यो समस्यामा फेरी।
नयाँ सुरुवात गर्नेछु अब राम्रो साइत हेरी।

समस्या त उही रहेछ समय मात्रै फरक।
अनुहार त उही रहेछ मुकुन्डो मात्रै फरक।

मेरो विधाता म नै हूँ । कविता ।

साँईला तिमी कहिले नरुनु ल
आँखाबाट आँशु
ए हैन हैन
मोतीका दाना नझार्नु है
किन थाहा छ?
किनकी आँशु खस्दा
मोती झर्दा
सम्पन्नता पनि त खस्किन्छ
के तिमी विपन्नतामा बाँच्न सक्छौ र ?
मोती त मूल्यवान पो हुन्छ त हैन र ?

अझ त्यसमा हामीले सजाएका मीठा मीठा सपना जो छ
हाम्रो तस्वीर छ
उकाली,ओराली
अनि भञ्ज्याङ चौतारीमा
गाउँदै ,नाच्दै हिडेका अविश्मरणिय दृश्य छ
हाम्रो तस्वीर छ
हाम्रो मिलन् छ,विछोड छ
के तिमी त्यो संगाल्न चाहन्नौ ?
चाहन्छौ नि है
त्यसो भए त्यसलाई बग्न नदेउ
तातो पानीको भेल बनिआँखाको डिलबाट उर्लन नदेउ
सम्हाल बरु ताल बनाउ
एकदिन म पक्का आउनेछु
तिमी उभिएको धरातलबाट देखिने
क्षितिजमा टाँगिएको रातो घाम न अस्ताउंदै
म आउनेछु
त्यो नैनातालमा हाम्रो सपना खोज्दै
आफ्नो प्रतिबिम्ब खोज्नेछु
मलाई मेरो बिम्ब दिन्छौ हैन?
दिन्छौ नि है
पक्का?
अनि हामी त्यहि तालमा पौडिनेछौ
दु:खको यो भवसागर तर्नेछौ
किनारै किनार प्रेमको त्यो सुन्दर बस्तीमा पुग्नेछौ
जहाँ हामी हाम्रो सपना भेट्नेछौ

नेपाली गद्दय कविता "मेरो अनुरोध" बिना थिङ्ग तामांग ।

साँईला तिमी कहिले नरुनु ल
आँखाबाट आँशु
ए हैन हैन
मोतीका दाना नझार्नु है
किन थाहा छ?
किनकी आँशु खस्दा
मोती झर्दा
सम्पन्नता पनि त खस्किन्छ
के तिमी विपन्नतामा बाँच्न सक्छौ र ?
मोती त मूल्यवान पो हुन्छ त हैन र ?

अझ त्यसमा हामीले सजाएका मीठा मीठा सपना जो छ
हाम्रो तस्वीर छ
उकाली,ओराली
अनि भञ्ज्याङ चौतारीमा
गाउँदै ,नाच्दै हिडेका अविश्मरणिय दृश्य छ
हाम्रो तस्वीर छ
हाम्रो मिलन् छ,विछोड छ
के तिमी त्यो संगाल्न चाहन्नौ ?
चाहन्छौ नि है
त्यसो भए त्यसलाई बग्न नदेउ
तातो पानीको भेल बनिआँखाको डिलबाट उर्लन नदेउ
सम्हाल बरु ताल बनाउ
एकदिन म पक्का आउनेछु
तिमी उभिएको धरातलबाट देखिने
क्षितिजमा टाँगिएको रातो घाम न अस्ताउंदै
म आउनेछु
त्यो नैनातालमा हाम्रो सपना खोज्दै
आफ्नो प्रतिबिम्ब खोज्नेछु
मलाई मेरो बिम्ब दिन्छौ हैन?
दिन्छौ नि है
पक्का?
अनि हामी त्यहि तालमा पौडिनेछौ
दु:खको यो भवसागर तर्नेछौ
किनारै किनार प्रेमको त्यो सुन्दर बस्तीमा पुग्नेछौ
जहाँ हामी हाम्रो सपना भेट्नेछौ