Search Lyrics

Like

Saturday, May 18, 2013

*** जीवन सागर *** कविता

विशाल सागर जस्तै हो जीवन
जसको गहिराइ अपरम्पार हुन्छ
न त पिंधको टुंगो नै लाग्न सक्छ
न त सतहले नै वास्तविकता बताउन सक्छ

अनगिन्ती भेलहरु रेलिएर यहाँ
पटक पटक दुषित बनाउन खोजेका हुन्छन
हजारौं हजार दुर्गन्ध मिसिएर यहाँ
कलंकित र बिटुलो पार्न खोजेका हुन्छन


कैयौँ आँधीबेहरी,बतास र हुरीहरुले
उडाएरै लैजाउँला जस्तो गरेका हुन्छन
लाखौं लाख बाधा र व्यवधानहरु आएर
निश्चिन्ततालाई बिथोल्न खोजेका हुन्छन

शृष्टिकै अनमोल र अपूर्व वरदान हो यो
तर पनि यदाकदा बिचलित बनेको हुन्छ
अनियन्त्रित आवेशले रौद्ररुप धारण गरेपनि
आफ्नो अस्तित्वमा तुरुन्तै फर्किएको हुन्छ

महानता र विशालताले भरिपूर्ण छ यो
न त कसैले अपवित्र नै बनाउन सक्छ
सधैं स्थिर र शान्त भएर रहेको छ यो
न त यसको निर्मलतामा आँच नै आउन सक्छ

कुनै असहजता र अवरोधले डराउदैन यो
न त यसलाई कसैले रोक्न नै सक्छ
आफ्नो सत्यता मा सधैं अडिग रहन्छ यो
न त यसको "नाम"नै बदनाम भएको हुन्छ

विशाल सागर जस्तै हो जीवन
त्यसैले त सागर भएर रहन सक्नुपर्छ
निर्मल ,निश्छल अनि निष्कलंक भएर
निरन्तर निरन्तर बहन सक्नु पर्छ

0 comments:

Post a Comment